घत् लाग्दो सारै परेको कुरो!!!
एक्लो व्यक्ति चाहेर पनि असल हुन सक्दैन
अश्विनी कोइराला
दोस्रो जनआन्दोलनताका सबैमा एउटा उत्साह थियो। एक दशक लामो सशस्त्र द्वन्द्वपछि भएको शान्तिपूर्ण आन्दोलनताका नेताहरूले नयाँ नेपाल बनाउने घोषणा गरेका थिए, तर जसै दिनहरू बित्दै गए, नयाँ नेपाल त परको कुरा, 'पुरानो नेपाल' का राम्रा कुरालाई पनि नेताहरूले जोगाएर राख्न सकेनन्। आठ वर्षअघि रोजगारीका लागि जति युवा बिदेसिन्थे, त्योभन्दा बढी अहिले काम खोज्दै विदेश पुग्ने गरेका छन्। देशमा आर्थिक वृद्धि एवं रोजगारीको अवसर बढ्न सकेको छैन। बरु भष्ट्राचार र अनियमितता पहिलेको तुलनामा बढ्दै गएको तथ्यांकहरूले देखाएका छन्। राजनैतिक दलहरूको अलोकपि्रयता देखेरै त्ात्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएका थिए, तर त्यो बेला नेताहरू जति आलोचित थिए, अहिले उनीहरूको छवि त्योभन्दा पनि खराब छ। बाहिरबाट जतिसुकै आशाका कुरा गरे पनि जनता राजनैतिक दल एवं नेताहरूबाट विरक्तिएका छन्। यद्यपि यो निराशाको कारण के हो ? गल्ली-गल्लीमा मानिसहरू किन नेताहरूलाई गाली गरिरहेका भेटिन्छन्, साप्ताहिकले यसको कारण बुझ्ने प्रयास गरेको थियो। ती धेरै व्यक्तिमध्ये भृकुटीमण्डपको फुटपाथमा कपडा पसल चलाउने त्रिलोचन बाँस्तोलासँग पनि लामो कुराकानी भयो। राजनीतिशास्त्रमा एम.ए. गरेका बाँस्तोलाको विचारले आमयुवाको निराशाको प्रतिनिधित्व गर्न सक्छ।
एमए गरेको मानिस, स्कुल-कलेज पढाउन छाडेर फुटपाथमा व्यापार गरिरहनुभएको छ, यसको कारण के हो
मैले एमए मात्र गरेको होइन, एमएमा नेपाल दोस्रो भएको हुँ। मेरो प्रथम श्रेणीको पनि उच्च अंक छ। मैले यति पढें भनेर के गर्नु, एसएलसी पास नभएका व्यक्ति वायुसेवा निगम प्रमुख भएका छन्। जब नपढेका व्यक्तिहरू कुनै राजनैतिक दलमा लागेकै कारण ठूलो पदमा पुग्छन् भने हामी पढेकाहरूले फुटपाथमा व्यापार नगरेर के गर्नु ? स्वास्नी-छोराछोरी त पाल्नैपर्यो।
एक-दुई नपढेका मानिस ठूलो पदमा पुगे भनेर सबैलाई एउटै घानमा हाल्न मिल्छ
त्यो त उदाहरण मात्र हो। पढेर पनि सोर्स-फोर्स नभै नेपालमा कोही पनि ठूलो पदमा पुग्न सक्दैन। तपाईंले यही फुटपाथमा खोज्दै हिँड्नु भयो भने हाम्रा सांसद र मन्त्रीभन्दा धेरै पढेका व्यक्ति पाउनुहुन्छ। कानुन बनाउने र जनताको प्रतिनिधित्व गर्ने मानिसले कम्तीमा स्नातक गरेको हुनुपर्छ भन्ने कुरा हाम्रा नेताहरूले किन नबुझेका ?
पढेको भन्नेबित्तिकै सबै कुराको ज्ञान हुन्छ भन्ने छ र ? थोरै पढे पनि राम्रो काम गरे भने किन विरोध गर्नु र
त्यो त ठीक हो, तर जब पढेलेखेकै मानिस ज्ञानी छन् भने नपढेकालाई उच्च पद दिएर किन शिक्षाको अपमान गर्नु ? मसँगै विभिन्न विषयमा मास्टर डिग्री गर्ने साथीहरू क्षमता हुँदाहुँदै पनि सोर्स-फोर्स नभएकै कारण ८-१० हजारको जागिर खान मलेसिया, कतार पुगेका छन्। उनीहरूलाई पहिल्यै यो कोरा सिद्धान्त पढेर केही हुँदैन भन्ने थाहा भएको भए प्राविधिक शिक्षा पढ्थे होलान्। मास्टर डिग्रीसम्म पढ्न १६ वर्ष खेर गयो, त्यसको क्षतिपूर्ति कसले दिन्छ ?
हामीले पढ्ने शिक्षाले कुनै काम दिँदैन भन्ने कुरा कहिले थाहा पाउनुभयो
स्नातक गरेपछि जब जागिर खोज्न थालें, काम गरेको अनुभव के छ भनेर सोध्न थाले। एउटै कलेज पढ्ने साथीहरू, जसका सोर्स-फोर्स थिए, तुरुन्तै विभिन्न संघ-संस्थामा जागिर खान थाले। हामीजस्ता टेक्ने, समाउने नहुनेहरूले जागिर पाएनांै। डिग्री पढ्दा पो केही हुन्छ कि भनेर फेरि पढ्न थाल्यौं। यद्यपि डिग्री पढ्न थाल्दा नै मलाई यस्तो शिक्षाको काम रहेनछ भन्ने लाग्न थालिसकेको थियो। मेरो पनि १६ वर्षे पढाइ कुनै काम लागेन। यो फुटपाथ व्यापारमा जोड, घटाउ, गुना र भागाबाहेक अरू कुनै कुराको आवश्यकता छैन। बोल्ोर ग्राहकलाई सन्तुष्ट पार्ने कला पनि मलाई पढाइले सिकाएको होइन। हामीलाई हाम्रो शिक्षाले जीवन के हो भन्ने कुरा सिकाएन। आफूले थाहा पाउँदासम्म समय घर्किसकेको थियो। यो अनुभव मेरो मात्र होइन, मजस्ता धेरै युवाको हो।
तपाईं-हामीजस्ता लाखौं युवा गाउँ छाडेर सहर पस्छौं, हामीलाई सहर पस्न बाध्य बनाउने कुरा के हो
लाहुरे संस्कार। हाम्रो समाजमा गाउँमै बसेर केही गर्न खोज्यो भने बेकामे, बिगि्रएको, गरिखान नसक्ने भन्ने आरोप लगाइन्छ। कोही बाहिरबाट आयो भने त्यसको प्रशंसा गर्न थालिन्छ। सानैदेखि हामीलाई पढेर ठूलो हुनू, पैसा कमाउनू, देश-विदेश घुम्नू भन्ने सिकाइएको हुन्छ। कहिल्यै गाउँ-ठाउँमै बसेर विकास गर्नु भनेर सिकाइँदैन। घरबाहिर निस्कदा के-के कला जान्नुपर्छ, बाहिर कसरी बाँच्नुपर्छ भनेर बताइँदैन। म पनि भोजपुरबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेको हुँ। हामीजस्ता युवाहरू काठमाडौंमा होस् वा देशबाहिर होस्, लछारिँदै, पछारिँदै, घिसिँ्रदै जीवन बिताउँदैछौं। यो हाम्रो बिडम्बना हो, किनभने हामीलाई रुचिअनुसार पढ्न सिकाइएन। जानेको कुरा गरेर खान सिकाइएन। कुनै गाइडेन्स नै भएन।
यसको दोष कसलाई दिनुहुन्छ
राजनीति नै यसको दोषी हो। जुनसुकै कुरा पनि राजनीतिमै गएर ठोक्किन्छ। किनभने जसले शिक्षाको सिस्टम बसाउन सक्थे, उनीहरू नै भ्रष्ट भए। रोड बन्यो भने जुन जिल्लाबाट नेताले चुनाव जितेका छन्, त्यही बनेको छ। तपाईं भन्नुहोला फलानो दल ठीक छ, फलानो नेता राम्रो छ। तर म जस्तो फुटपाथमा बसेर हेर्नुहोस्, अनि सबै थाहा हुन्छ। यहाँ न त कुनै दल ठिक छन्, न कुनै नेता।
तपाईं राजनीतिशास्त्रमा एमए गरेको मानिस, यी सामान्य कुरा हुन् भन्ने थाहा छैन र
सैद्धान्तिक रूपमा राजनीतिमा तीन किसिमको संस्कार हुन्छ, एउटा संकीर्ण राजनीतिक संस्कार, दोस्रो प्रजा राजनीतिक संस्कार र तेस्रो सहभागितामूलक राजनीतिक संस्कार। हामीलाई पहिले लामो समय प्रजा राजनीतिक संस्कारमा बस्न बाध्य बनाइयो। अहिले हामी संकीर्ण राजनीतिक संस्कारमा छौं। गाउँ-घरमा निर्वाचन हुँदा हामीलाई उचालेर मर्न-मार्न लगाइन्छ, तर सत्तामा अरू नै पुग्छ। यो सबै संकीर्ण राजनीतिक संस्कारका कारण भएको हो। हामी बाठा भयौं भने यिनको समय सकिन्छ, त्यही भएर हामीलाई जानी-जानी यी नेताहरूले यस्तो संस्कारमा राखेका हुन्।
तपाईंको आँखाबाट हेर्दा यो देश कहिले सुधि्रन्छ
कहिल्यै सुधि्रँदैन। किनभने जो पदमा पुग्छ, उसले सिस्टम बनाउने होइन, आफूलाई बनाउने कुरा सोच्छ। यस्तो देशमा के हुन्छ ? कहिलेकाहीँ त मलाई आफू नेपाली भएकोमा पनि लाज लाग्छ। राज्य भनेको संस्था हो, माटो होइन। मलाई माटोसँग कुनै गुनासो छैन तर यी राज्य सञ्चालकका कारण म किन नेपाली भएर जन्मिएँ भन्ने लाग्छ।
अहिले देशमा सबैभन्दा बढी रुचाइएका, इमान्दार र देशका लागि केही गर्ने आशा गरिएका व्यक्ति प्रधानमन्त्री भएका छन्, अब त आशा गर्न सकिने अवस्था आयो, होइन र
एक-दुई जना इमान्दार भएर हुन्छ ? अघिल्लो शासनकालमा ऊर्जा मन्त्री गोकर्ण विष्टले पनि राम्रै गर्न खोजेका थिए, के उनी इमान्दार छन् भनेर माओवादीले एमालेका मानिसलाई मन्त्री बनाउँछ ? बनाउँदैन। यहाँ भ्रष्टहरूको यति धेरै बोलावाला छ कि थाहै नपाई डा. बाबुराम भट्टराई पनि भ्रष्ट हुन्छन्। हेर्दै गर्नुहोला, अहिले बाबुराम भट्टराई, जनतामा जति हाई-हाई छन्, प्रधानमन्त्री छाड्ने बेलामा उनी गन्हाएर निस्कनेछन्।
छातीमा हात राखेर भन्नुहोस् त, तपाईं कुनै शक्तिकेन्द्रमा जानुभयो भने अहिले जसरी आदर्शको कुरा अरूलाई सिकाउनु भयो, तपाईं त्यस्तै आदर्शको काम गर्न सक्नुहुन्छ
नढाँटी भन्ने हो भने म पनि भ्रष्ट हुन्छु, तपाईं पनि भ्रष्ट हुनुहुन्छ। किनभने हाम्रो संस्कार नै गलत छ। सिस्टम बसाउनेहरूले नै गलत सिस्टम बसाएका छन् भने एक्लो व्यक्ति चाहेर पनि असल हुन सक्दैन अनि त्यसको मार निमुखा व्यक्तिले बेहोर्नुपर्छ। जबसम्म राजनीतिमा लागेका तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तप्कासम्म शुद्ध हुँदैन, कोही पनि नैतिकवान् हुन सक्दैनन्।