सायोनाराका दुई थोपा आँशु
सत्य घटनामा आधारित कथा
सानो खलबल सुनेर च्याँके केटाहरुको भिडतिर नजिकियो।
के भयो र भाइ, कसैले केहि गरे कि कसो, सिधा साधा देखे भने त दादा गिरी देखाउँछन् यो स्कुलका केटाहरु, ए हगुवा तैँले हानेको होस्।
कहाँ मैले हो, ऊ तेल्ले सर्टफिकेट हेरम् भनेर लगेर बटार्न खोजेर हैन नि।
गोबिन्दले सुंक्क सुंक्क गर्दै थियो तर केही बोलेन। च्याँकेले नजिकैको केटाको हातमा गोबिन्दको सर्टिफिकेट बटारिएको देख्यो, र सोध्यो।
ए रामेश्वरका छाउरा, क्यारेको होस्, अर्काऽ स्कुलमा आएर दादा गिरी देखाउने, तेरा बाउको सर्टिफिकेट हो र बटारेको छस्, दाँत साँत झार्दिम् अहिले तेरा।
ल झार , च्याँके। ल हेरम् त तेरा बाउको तागत, शिसिर भन्ने केटोले मूख छोड्यो। ऊ शहरको स्कुलमा पढ्ने केटा तर बिदा भएकोले यसो यहाँ घुम्दै थियो।
च्याँकेले शिषसरको कलाठामा समातेर झ्याम् झ्याम २ झापड दिइहाल्यो । शिसिर त गाला छामेर रुनु न हाँस्नु भयो । च्याँकेको अर्को थप्पडले उसका आँखामा साउने बाढि आए जैँ आँसुको वर्षा आयो।
साले च्याँके, साले पियुन, अर्कालाई हान्छस् तेसै।
अर्काऽ स्कुलमा आएर तैँले दादा गिरी देखाउने, भर्ना हुन आआका केटालाई तैँले सोझो देखेर सर्टिफिकेट बटार्दै हिँड्ने, तेरा बाउले तँलाई तेइ गर्न पठाको हो यहाँ।
पियुन भएँ त भएँ तेरा घरको भऽ छैन। हाम्रा स्कुलको काम गरेको छु। यो स्कुल तेरा बाउका जग्गामा छ, साउकोटाले जग्गा नदिएको भए यत्रो यो स्कुल हुन्थ्यो भन् त। हाम्रो बाजेले बारी, खरबारी दिएर यो स्कुल बनेको हो, बुझिस्, तेरिमा लैजाने, हाम्रा स्कुलको मायाले पियुन भइयो। क्यार्छस्,
गोबिन्दका हाड हाँसे च्याँकेले सर्टिफिकेट सपार्दै गोबिन्दका हातमा दियो। स्कुलमा शिक्षक कोहि थिएन, भर्ना हुन मिलेन।
हुन त च्याँके यो स्कुलको पियन हो तर उसैले भने झैँ स्कुलको पियन हुनु पर्ने हैसियत भन्दा धेरै माथि छन् तिनीहरु कोही नपाएर उसका बावु च्याँकेले स्कुलको रेख देख गरे । पछि छोरोले बाउको बिँडि थाम्ने क्रममा उस्लाई पनि च्याँके भन्न थालेका हुन्।
च्याँके सोझो स्वभाबको छ र सत्यको पक्ष लिन्छ। सज्जन नै त नभनम् किनभने नौ कक्षामा फेल गर्दियो भनेर हेडसरलाई ३ कान्ला फाल्ने लाउकेहरुको लिडर पनि उही हो, भन्छन्।
उसको तलब रु ४०० मात्र थियो। सुरुमा बावुको पाला तोकेको तलब दशकौँ बित्दापनि बढेको थिएन। शिक्षकहरुको तलब ५ पटक बढिसक्दा पनि निजी श्रोत कम छ भनेर उसको तलब बढाइदिएका थिएनन्।
च्याँकेको शब्दमा तलब हेर्दा त काम गर्ने जाँगर चल्दैन तर आफ्नै बाजेले खोलेको स्कुल भएर मात्र गर्या हो।
कहिले दिनभरि आँपको रुखमुनि सुत्छ। घण्टि लाउने बेलामा गोरु चराउन तल आँधिखोलाको छेउको खरबारीमा पुगेको हुन्छ । कहिले तल खेतमा पानी मिलाउन पुगेको हुन्छ।
केटाहरुले पानी देऊ त कृस्ण दाइ खाम्, भन्दा, छैन पानि सानी, खोलामा गएर खा, तल आँधिखोला देख्या छैनस्, भनेर सातो टिप्थ्यो केटाहरुको।
अहिले पनि फेरि शिक्षकको तलब बढ्यो च्याँकेले केटाहरुलाई भन्यो, हेर केटा हो, तिम्रो कुरा त्यो चुच्चेले नि खान्छ यसपाली मेरो तलब झ्वाम्म बढाएर १००० नबनाई भएको छैन।यसो कुरामा कुरा मिलाऊ है, नत्र तिमीहरुलाई पानी ओसारेको के काम भयो आँधिखोलादेखि यो उकालो। च्याँकेले केटाहरुलाई भन्ने गर्थ्यो।
धेरै वर्षपछि हेडमास्टरहरुको सरुवा हुने गाँइगुँई चल्यो। हाम्रा हेडसरको नि सरुवा हुने भयो।
यसपाली हेडसरको सरुवा पक्का भएछ स्कुल स्थापनाको २५ वर्षपछि हेडसरको सरुवा हुने रे। यो हल्लाले मिश्रित प्रतिकृयाहरु निस्किन थाले।
च्याँकेले भन्यो,
जाओस् चुच्चे जाओस्। मलाई कम पेलेको छ यसले।
ए कृष्ण, घण्टी लाउने बेला भयो, कता गयो कृष्ण।
हेडसरको आवाज आँपको रुखमुनि सम्म सुनियो।
बोला चुच्चे बोला, घाँटी सुक्नेबेलासम्म बोला, तँलाई ९ कक्षामा हुँदा ३ कान्ला फालेको सम्झेको होलास् नि।
च्याँकेले केटाहरुको अगाडि गर्व गर्दै हेडसरको कुरा काट्यो र बिस्तारै उठेर गयो। घण्टी लगाएर फेरि आँपको रुखमुनि पुगेर गफ दिन थाल्यो।
मैले हुलाकीको जागिर पाऊँदा पनि गइन केटा हो, यहाँ पानिको पँधेरो छोडेर कहाँ डोटी जानु यार, हैन ल भन त। यहाँ हल्ली हल्ली थर्काउँदै खाऽको बानि, जान्न डोटी सोटी।
कृस्ण दाइ नगाएकै ठिक छ। केटाहरुले स्याल भाका मिलाए।
कृस्ण दाइले केटाहरुलाई तहमा राख्छन्। हेडसरले नि ठेगान लाउन नसक्ने केटाहरु कृस्णदाइ भनेसी थरररर हुन्छन् भन्या।
भोलिपल्ट बैठक बस्यो हेडसरको सरुवा पक्का!
हेडसरले भने,
अब यो कृष्णको तलब मिलाउन पर्ने छ, बरा धेरै वर्ष सेवा गर्यो, निजि श्रोत नपुगेर ४०० मा काम गर्दै आयो, आजबाट यसलाई स्थाइ गरिदिने अनि १५०० हुन्छ। मैले जिल्लाबाट स्विकृत लिएर आइसकेको छु।
केटाहरु सबैबाट ताली आयो। हेडसरले मुखले गाली गरे पनि च्याँकेको २५ वर्षसम्मको मिहिनेत नेदेखेका त हैनन् नि।
भोलिपल्ट हेडसरको बिदाई, च्याँकेले नजिकैको देऊरालि पुगेर हेडसरलाई बिदाइ गर्न लाली गुराँस टिपेर ल्याएको थियो।
हेडसरले २५ वर्ष सेवा गरेको स्कुल छोडेर जाने बेला २ शब्द बोल्न अगाडि सरे , हेडसरका आँखाबाट आँशु रसाएका थिए। सबैले तल हेरे। सबै शिक्षकको १ महिनाको तलब जोडेर बनाएको प्रागंण।
१,२ जना अभिभावक घुँक्क घुँक्क गर्दै थिए।
च्याँकेले हेडसरको झोला बोक्यो, तल जुग्ले बजारसम्म पुर्यायो। हेडसरले फेरि एक पल्ट माथि स्कुलतिर फर्केर हेरे चिलाउनेको रुख, आँपको बोट र तल कलकल गर्दै झरेको आँधिखोला, यो बुढेसकालमा आज आँफैलाई बिरानो लाग्यो ...
च्याँकेले हेडसरलाई जिपमा चढायो, खलाँसीले भन्यो, ल जाम् जाम् स्यांग्जा, वालिगं, पोखरा।
जिपले धुलो उडाउँदै घुम्ति काट्यो। च्याँकेले १० वर्ष अगाडिका हेडसरका शब्द सम्झ्यो,
ए कृष्ण, तैँले पढ्न नछोड् केटा, म नि"शुल्क गर्दिन्छु। बिहान, बिहान कोठा बढारे हुन्छ। तलब उती नै दिन्छु। घण्टी सण्टी हामी नै लगाम्ला।
च्याँकेले सायोनाराका २ थोपा आँशु झार्यो।