आज ८ मार्च, अर्थात अन्तराष्ट्रिय नारी दिवस। संसारको आधा आकाश, परिवाररुपी रथ गुडाउने एउटा पाङग्राको रुपमा चिनिने नारीहरुको समानता, अधिकारको लागि आवाजलाई अझ बलियो रुपमा अगाडी ल्याउने दिन।
नारी दिवसको उपलक्ष्यमा म यो ब्लगमा नारी महिला स्वास्थ्यका सम्बन्धमा सानो चर्चा गर्न चाहन्छु।
myhealthynepal.blogspot.com/2012/03/blog-post.html
नारी दिवस र नारी स्वास्थ्य/ Women's day & Women's Health
आज ८ मार्च, अर्थात अन्तराष्ट्रिय नारी दिवस। संसारको आधा आकाश, परिवाररुपी रथ गुडाउने एउटा पाङग्राको रुपमा चिनिने नारीहरुको समानता, अधिकारको लागि आवाजलाई अझ बलियो रुपमा अगाडी ल्याउने दिन।
नारी दिवसको उपलक्ष्यमा म यो ब्लगमा नारी महिला स्वास्थ्यका सम्बन्धमा सानो चर्चा गर्न चाहन्छु। र व्रिस्त्रितमा चाँही बिस्तारै लेख्दै जानेछु।
संसारको र नेपालको पनि लगभग आधा जनसंख्या भएका महिलाहरुका थुप्रै स्वास्थ्य समस्या पुरुषहरुका जस्तो त हुन्छ नै। तर भिन्न शारीरिक बनावट, गर्भधारण गर्नुपर्ने आदि प्राकृतिक कारणले उनीहरुको स्वास्थ्य समस्या केही भिन्न पनि हुन्छन्।
नेपालका महिलाहरुको कुरा गर्नुपर्दा
गर्भधारण र सुत्केरी सम्बन्धी समस्याहरु नै प्रमुख हुन आउँछ। अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीका अभाव, जनचेतनाको कमि, स्वास्थ्यक्षेत्रमा बजेट, स्रोत र जनशक्तिको राम्रो व्यवस्थापनको कमि आदी कारणले कैयौं (विशेषगरी गाँउका) गर्भवती महिला र सुत्केरी महिलाहरुले सामान्य स्वास्थ्य परिक्षण पनि नपाएको स्थिति छ। सुत्केरी गराउने सम्बन्धी तालिमहरु दिएर गाँउगाँउसम्म त्यो सेवा पुर्याउने कार्यक्रमहरु भैरहेका छन्, जुन सह्रानिय छन् तैपनि पर्याप्त भने छैनन्।
मलाई यतिबेला मेरो विधार्थीजीवनमा रिसर्च गर्दाको एउटा क्षण याद आयो। हामी एउटा गाँउमा विभिन्न परिवारहरुको विवरण संकलन गर्न गएका थियौं। एउटा परिवारमा श्रीमानसँग विवरण लिईरहेका थियौं, उनी आरामले बसेर हामीलाई भनिरहेका थिए की उनकी श्रीमति गर्भवति छिन् र हामीले "सुत्केरी हुने मिति कहिलेको दिइएको छ" भनी सोद्धा "आजको" भनेर उनले भने। हामीले खुसी भएर सोध्यौं "अनि उहाँ कहाँ हुनुहुन्छ त?" "उ पर खेतमा काम गरिरहेकी छिन्" भन्दै उनले खेततिर देखाए। हामी सबै अचम्ममा पर्यौं।
यस्तो छ हाम्रो समाजको अवस्था।
कहिले जानीजानी र कहिले सामाजिक प्रवृति, चालचलनका कारणले हाम्रो समाजमा महिलाहरुका स्वास्थ्यमा हेलचेक्राइ हुने गरेको पाइन्छ। त्यसैले स्वास्थ्य क्षेत्रबाट मात्र यस्ता समस्याको समाधान कदापी हुनसक्दैन। यसमा सामाजिक अगुवाहरु, सामाजिक कार्यकर्ता, गाँउघरकै सदस्यहरु, संचार माध्यम, नीतिनियम निर्माणकर्ता आदी सबैको सहभागिता आवश्यक हुन्छ।
सबैलाई थाहा भएकै कुरा हो, गाँउघरका कैयौं गर्भवती महिलाहरु आइरन चक्की र फोलिक एसिड जस्तो गर्भका बेला अत्यावश्यक औषधी पनि खान पाइरहेका हुदैंनन्। अन्तराष्ट्रिय मान्यता अनुसार गर्भ रहेका बेलामा कम्तिमा ३ पटकसम्म चिकित्सकसँग जाँच गराई भिडियो एक्सरे गर्नुपर्ने भनेर भनिए पनि एकपटक अस्पतालको मुख देख्न पनि मुस्किल पर्ने ठाँउहरु पनि हाम्रो देशमा छन्। त्यस्तै सुत्केरी हुने बेलामा बढी रक्तस्राव, बच्चा अड्कने, लामो व्यथा लाग्ने आदी समस्यामा तालिमप्राप्त स्वास्थ्यकर्मी र सुविधायुक्त स्वास्थ्यकेन्द्रका अभावमा कैयौं महिलाहरुले ज्यान गुमाउनुपरेको दु:खद समाचार बेलाबेलामा सुन्न, पढ्न पाइन्छ।
त्यस्तै अर्को समस्या भनेको
आङ खस्ने रोग/Uterine prolapse पनि हो अर्थात् पाठेघर तल खस्ने समस्या। आजभोलि गाँउगाँउमा यसको उपचारका लागि नि:शुल्क स्वास्थ्य शिविरहरु गरेर जनचेतनाको कारणले यो समस्या धेरै बाहिर आएको छ। यो समस्याका मुख्य कारणहरुमा धेरै बच्चा जन्माउनु, सुत्केरीको बेलामा लामो व्यथा लाग्नु, महिनावारी रोकिएपछि हर्मोनहरुको कमि हुनु आदी पर्दछन्।
त्यस्तै
महिनावारीका समस्याहरु पनि महिलाका प्रमुख स्वास्थ्य समस्याहरुमा पर्छन्। महिनावारी भनेको महिलाको शरीरमा स्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रामा उतारचढाव आउनाले हुने प्राकृतिक प्रकृया हो, यसले महिलाको पाठेघरलाई गर्भधारणका लागि तयार पार्ने काम गर्छ। यति सामान्य जानकारीका अभावमा मानिसहरु महिनावारी भएका महिलाहरुलाई अझै पनि घर पस्न नदिने, बाहिर छुट्याएर राख्ने गर्छन्। छाउपडी प्रथा यसको एउटा उदाहरण हो। हुन त यो समस्या स्वास्थ्यसम्बन्धी भन्दा पनि एउटा सामाजिक समस्या हो। चेतनाको अभाव, पहिलेदेखिको चालचलन, अन्धविश्वास आदीका कारणले समाजमा यस्तो भैरहेको हुन्छ।
महिला स्वास्थ्य समस्यामा अर्को भनेको विभिन्न प्रकारका क्यान्सरहरु पनि हुन्। यसमा हाम्रो देशमा बढि हुने भनेको
पाठेघरको मुखको क्यान्सर/Cervical Cancer हो। जनचेतनाका अभावमा शुरुमै पत्ता लाग्न सक्ने र उपचार गरेर निको हुनसक्ने यो रोग अस्पतालसम्म निकै ढिलो आइपुग्छ।
प्याप स्मियर टेस्ट/PAP smear test जस्तो सामान्य जाँचबाट यसलाई शुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सकिन्छ। त्यस्तै पाठेघरको क्यान्सर, डिम्बाशयको क्यान्सर, स्तनको क्यान्सर आदी पनि महिला स्वास्थ्यका समस्याहरु हुन्।
नेपाली महिलाहरुका केही मुख्य स्वास्थ्य समस्याहरु माथि भनिएपनि यी पूर्ण भने होइनन्। साथै सामाजिक रुपमा पछाडी पारिने महिलाहरुका यी स्वास्थ्य समस्याहरुलाई सम्बोधन गर्नका लागि यसका बारेमा जनचेतना जगाएर स्वास्थ्यकर्मी र सुविधायुक्त स्वास्थ्यकेन्द्रको सहज पहुँच बनाउनु जति जरुरी छ, त्यति नै आवश्यकता छ सामाजिक कार्यकर्ताहरु नीतिनियम निर्माताहरु र जनसहभागिताको।
महिलाका स्वास्थ्यसम्बन्धी समस्याहरु:
१. महिनावारी सम्बन्धी समस्याहरु,
महिनावारीको गडबडी, महिनावारी अघिको समस्या (प्री मेन्सचुरल सिन्ड्रोम)
२. महिनावारी रोकिएपछि आउने समस्याहरु,
मेनोपजल सिन्ड्रोम र त्यसका असरहरु
३. गर्भ र सुत्केरी सम्बन्धी समस्याहरु,
एन्टीनेटल, नेटल र पोस्टनेटल समस्याहरु
४. गर्भपतन सम्बन्धी समस्याहरु,
५. पिसाबका नलीको र प्रजनन अंगहरुको संक्रमणहरु,
६. निसन्तानपन,
७. स्तन सम्बन्धी समस्याहरु,
स्तन दुख्ने, स्तनमा आउने गाँठागुँठिहरु, स्तनको क्यान्सर
८. प्रजनन अंगहरुका क्यान्सरहरु
पाठेघर, पाठेघरको मुख, डिम्बाशय आदीको
अन्तमा,
अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा सबै महिलाहरु, महिलाको विकास, सशक्तिकरण र सम्बर्धनमा लाग्नुहुने सबैलाई हार्दिक शुभकामना।