दुई
महिनाअघिसम्म खसी बजारमा घाँस पुर्याउने यी आमैको सरुवा भएको छ । ‘घाँसी
आमै’ बाट अहिले यी माग्ने आमै भएकी छिन् । भद्रकाली मन्दिर परिसरलाई
कर्मथलो बनाएकी छिन् यिनले । हुन त राजधानीमा माग्ने र घाँस काट्नेको कुनै
कमी छैन । उनका भन्दा सयौंगुना दुःखका पहाड चढेका असंख्य मानिस भेटिन्छन्
यहाँ । ८० कटेकी यी आमै उनीहरूभन्दा भिन्न यसकारण भइन्, उनी घाँस काट्दा
पनि सुखी छिन्, माग्दा पनि सुखी ।
भद्रकाली मन्दिरमा मुसेली आमासँग
भेट्दा उनी डबल गन्दै थिइन् । मैले प्रश्न गर्न नभ्याउँदै उनले उत्तर
दिइन्, ‘भोलि घरबेटी भाडा लिन आउँदै छन् । भोलि १० गते होइन् ? त्यसैले
पैसा पुर्याउँदैछु ।’
मुसेली आमासँगको मेरो चौथो भेट थियो । उनलाई
यति धेरै नरम मैले पहिला पाएकी थिइन् । उनलाई मुसेली नामले कमैले चिन्छन्
। ‘खसी बजारकी आमा’ उनको ‘ब्रान्ड नेम’ हो ।
खसी बजारका हरेक सदस्य
उनको ‘हुङ्कार’सँग परिचित थिए । उनको छेउमा जानु र उनको विषयमा सोध्नु
निकै साहसपूर्ण काम हुन्थ्यो । उनका छेउमा पर्ने हरेक अनजान मानिस उनका
लागि लुटेरा थिए । त्यसैले त उनीसँग बोल्न चाहनेलाई आँसी -हँसिया) देखाएर
तर्साउँथिइन् । अविश्वासको पनि बलियो कारण छ उनीसँग ।
उनी टेकुमा बस्दा साहुले घर छाड्दे भनेको तीन
दिनजति भएको थियो । सुकुम्बासी टोल थियो । उनलाई लाग्यो, ‘सबै बसेका छन् म
पनि बस्छु ।’ उनीसँग राम्रो पलङ थियो, टेबुल पनि थियो । राति चार/पाँचजना
आए । उनलाई कुट्नसम्म कुटे । मरी भन्ने लागेपछि उनीहरू गए । उनी जिउँदै
थिइन् । भागेर टेकु चौकीमा पुगिन् । कुरा सुन्नु त कता त्यहाँबाट उल्टै
लखेटिइन् । ‘म ट्याक्सी चढेर कालीमाटी पुगेँ । त्यो सिपाही पनि मिलेको
रहेछ ।’ उनले पहिलोचोटी रहस्य खोलिन् । ‘ मलाई झपारेर किन आएको भन्यो । म
यहीँ बस्छु भनेर बसेँ, अनि ज्यान जोगियो ।’
यति मात्र होइन्, घाँस
काटेर दुई लाखजति कमाएकी थिइन् उनले । एकपटक मीनभवनमा उनलाई ‘ठक्कर’ दिएर
दुई/तीनजनाले ८० हजार जति लुटे । त्यो पैसा उनको पोल्टामै थियो ।
‘माओवादीले मलाई धक्का दिएर लडाए अनि मेरो पैसा लुटे,’ लुटेरा सबै माओवादी
हुन् जस्तो लाग्छ उनलाई । त्यसको पीरले उनी तीन दिन सुतिनन् । पुतलीसडकको
वाणिज्य बैंकमा उनले अलिकति पैसा राखेकी थिइन्, नागरिकताको चलन नहुँदा ।
अहिले त्यो पैसा दिन मान्दैनन् बैंक, किनकि उनीसँग नागरिकता छैन । ‘मेरो
पैसा त्यो बैंकले खायो । मसँग भएको त्यो कागज पनि हरायो,’ उनी भेटेजतिलाई
गुनासो गर्न भुल्दिनन् । यस्ता विपत्ति आइलागेपछि उनले अपरिचितलाई मात्र
होइन चिनेकालाई पनि विश्वास गर्न छाडिन् । उनका आफ्नै छोरा पनि त्यसका
अपवाद होइनन् । यिनको जन्मथलो र कर्मथलो रामेछापको बिजुलीकोट । उमेर
थाहा छैन, ०२९ सालमा यी काठमाडौं आइन्, त्यो बेला ४० कटिसकेकी थिइन् । आमा
थिइन् । बा मुसली दुई वर्षको हुँदै मरेका, तीन दिदीबहिनी, एक दाजु ।
गाउँमै उनको बिहे भयो । श्रीमान् मरेपछि उनी आमासँगै बस्थिन् छोरो लिएर ।
आमा पनि मरिन् । आमाले उनको नाममा केही पाटो जग्गा राखिदिएकी थिइन् । दाजु
इन्डियन आर्मीमा थिए । छोरा नभएकाले उनले ‘साठी र एक वर्ष’मा अर्का भाउजू
बिहे गरे छोरा पाउन । तिनै छोरा पाउन ल्याएकी भाउजूले २०२८ सालतिर त्यही
पाटो जग्गाका लागि उनलाई बारीमा लौरैलौराले हानिन् । फेरि लौरो नखान र
लौराको डाम मेट्न उनी काठमाडौं हानिइन् गाउँकी एक सुब्बेनी बाहुनीसँग ।
‘महेन्द्र पोहोर मर्यो, यो वर्ष हामी काठमाडौं आएको,’ उनले भनिन् ।
उनको बिहे कहिले भयो ? उनैलाई नै याद छैन । कति वर्षकी थिइन् त्यसबेला ?
त्यो पनि याद छैन । यति मात्र होइन, उनलाई आफ्ना श्रीमान्को नामसमेत याद
छैन । फगत, यत्ति थाहा छ, ‘श्रीमान् कलकत्तामा काम गर्थे ।’ के काम गर्थे
उनलाई नसोधौँ किनकि उनलाई यो पनि थाहा छैन । उनी कहिल्यै श्रीमान्सँग
कलकत्ता गइनन् । त्यसैले उनलाई थाहा छैन ।
‘हामी नपढेकालाई कसरी याद हुन्छन् यस्ता कुरा,’
उनले भनिन् । नपढेर के भयो, उनी त आमा हुन् नि ! भन्छिन्, ‘छोराछोरीको पो
याद हुन्छ ।’ त्यो भने उनलाई राम्ररी याद छ । त्यो हो- महेन्द्र राजा
मर्नुअघि उनका ‘राजा’ मरे ।
कोही छैन उनको साथमा । आफूले जन्माएको
‘मुटुको टुक्रा’को एक प्रति फोटोसम्म पनि छैन । किन ? ‘आफ्नो त छैन अरूको
किन राख्ने ?’ माटोले टालिएको हात कन्याउँदै अचम्मको कारण सुनाइन्, ‘एकपटक
पैसा माग्न आएको थियो, अहिले आएको छैन । पैसा दिन्न । त्यसैले आउँदैन अचेल
।’
छोरा कता छ ? उनलाई जानकारी छैन । ‘हाँडीगाउँतिर छ रे भन्ने
सुनेकी छु,’ ‘रे’ सुनाइन्, ‘नभेटेको १२ वर्ष भयो,’ यसो भन्दा उनको
अनुहारमा कुनै दुःख झल्किएन । छोरा लिन आए जानुहुन्छ ?
‘अँहँ, जान्न आफूलाई मन लागेको खान पाइँदैन कमाएकी छु । एक्लै बसे मीठोमीठो खान पाइन्छ । म त जान्नँ बाबै,’ उनले धक
फुकाएर भनिन् ।
घरमा जग्गा थियो ६ रोपनीजति अन्न फल्ने । छोराको
नाममा थियो, अहिले के गरेको छ, थाहा छैन् । काठमाडौं आएपछि पनि उनी
कहिलेकाहीँ जान्थिन् भेटघाट गर्न । आजकल जान छाडिन् । यसमा पनि उनी दुःखी
छैनन् ।
मुसलीलाई लाग्छ उनीभन्दा उनको छोरा दुःखी छन् । ‘उसलाई पैसा
कमाउन गाह्रो छ । म त सुखी छु, मलाई पैसा कमाउन सजिलो छ,’ उनले छोराप्रति
सहानुभूति देखाइन् । छोराप्रति उनको अन्य गुनासो छैन । गुनासो सुनाएर केही
हुन्छजस्तो पनि उनलाई लाग्दैन् । ‘भनेर के हुन्छ ? मैले जति त कसैले
भोगेको छैन । नभनेर पो मेरा ‘सत्तुर’ त धेरै छन्,’ उनी ठान्छिन् ।
उनको डल्लुमा कोठा छ, महिनाको पाँच सय भाडा तिर्छिन् । उनको कोठाको पनि
छुट्टै कहानी छ । पहिला मीनभवन बस्थिन्, सटरको कोठा थियो । महिनाको सय
तिर्थिन् । दस वर्ष बसिन्, त्यसपछि घरबेटीले महंगीको कुरा गर्दै भाडा बढाए
। उनीसँग नयाँ कोठा खोज्नुको विकल्प रहेन । दुई/चारजनालाई कोठा खोज्न
लगाइन् ‘कमिसन’ दिनेगरी । बल्लबल्ल एक वृद्धले डल्लुमा कोठा खोजिदिए, दुई
सय कमिसन खाएर । ती वृद्ध त्यसै घरमा बस्थे । उनी सरेपछि वृद्धले त्यो घर
छाडिदिए । तर, किन ? उनले अहिलेसम्म बुझेकी छैनन् । घर सिमेन्टले बनेको छ
। त्यसैले उनलाई राम्रो लाग्छ ।
त्यो कोठा सुत्न र खाना पकाउन मात्र
प्रयोग गर्छिन् उनी । कोठाका सबै समान उनीसँगै हिँड्छन् । उनी सधँ
भाँडाकुँडा साथमै बोक्छिन्, आफूसँग भएजति । एउटा कसाँडी, दुईवटा थाल,
दुईवटा कचौरा र तीनवटा जति ‘जम्बो’ बोतल उनका कुल भाँडाकुँडा हुन् । ती
सबै उनी बोकेरै हिँड्छिन् । अहिले माग्न थालेपछि एउटा दानीले उनलाई नयाँ
डस्ना दिएका छन् । त्यो पनि साथमै बोक्छिन् ।
‘एउटा पुरानो डस्ना
घरमै छ । यो नयाँ भएकाले बोकेको,’ उनले भनिन् । यिनलाई साथमा लिएर हिँड्दा
दुईवटा फाइदा छन् । एक भाँडा चोरिने डर हुँदैन, अर्को जहाँ मन लाग्यो
त्यहीँ पकाएर खान पाइन्छ । ताल्चा लगाएको कोठाबाट पनि भाँडा चोरिन्छ र ?
‘चोरिँदैन त, ताल्चा त प्याक्क गइहाल्छ नि,’ उनलाई आजकलका खासा कम्पनीका
ताल्चामा विश्वास छैन ।
‘मेरो साढे तीन सय परेको भुस्से चुल्हो त्यहीँबाट
हरायो,’ चोरीको प्रमाण दिइन् उनले । उनी खाना एकपटक मात्रै पकाउँछिन्
बेलुका, त्यहीँबाट अलिकति बिहानलाई राख्छिन् ।
घाँस काट्ने बेलामा उनी
११ बजेतिर मात्र उठ्थिन् । आजकल सातै बजे उठ्दा पनि ढिला हुन्छ । यहाँ
मान्छे आएर गइसक्छन् । त्यसैले चाँडो उठ्न परेन?’ उनले भनिन् । निद्रा नै
बढी लाग्छ उनलाई । ‘मलाई कस्तो बोक्साबोक्सी लाग्छ, बिहान नेवारहरू बाजा
बजाएर स्वयम्भूबाट र्फकेपछि मात्र उठ्छु,’ उनी ठूलो हाँसो हाँसिन् ।
सरकारले वृद्धाभत्ता छुट्याएको उनलाई थाहा छ । तर, उनले अहिलेसम्म लिएकी
छैनन् । आफूसँग नागरिकता नभएकाले वृद्धाभत्ता नपाएको उनको गुनासो छ । उनले
नागरिकता नबनाएकी भने होइनन् । जनमतसंग्रहताका आमाछोरा जहाज चढेर रामेछाप
पुगेका थिए, नागरिकता बनाउन । ‘नागरिकता बनाउन जहाज चढ्दा धेरै पैसा गयो,
पछि बागबजारमा हरायो,’ पश्चातापविहीन हाँसो हाँसिन् उनी ।
बिहान १०
बजेतिर उठ्नु, बेलुकाको रेडिमेड खाना तताएर खानु अनि राम्रो घाँसको खोजीमा
काठमाडौंका जमिन चहार्नु, ४ बजेतिर खसीबजारमा घाँस पुर्याउनु र बेलुकी ६
बजेतिर बिहानसम्मलाई पुग्नेगरी खाना पकाउनु उनको दैनिकी थियो । उनको
बुढ्यौलीसँगै त्यो दैनिकी पनि फेरियो अहिले ।
उनी अहिले आउने सबैलाई थोते हाँसो देखाएर स्वागत
गर्छिन् । आजकल उनको नजर काठमाडौंको जमिनबाट हटेर दाताको हातमा हुन्छ ।
उनलाई घाँस काट्न रमाइलो टुँडिखेल लाग्यो । खसीबजारबाट नजिक पनि थियो र
घाँस पनि थियो ।
मुसलीको खानाप्रतिको लगाव पनि अचम्मको छ । उनलाई भात
त्यति मीठो लाग्दैन । उनी चिउरा खान्छिन् । त्यो पनि माछाको टाउकासँग ।
टाउको नै किन ? ‘घाँटीमा अड्किँदैन त्यसैले,’ उनले टाउकाको ‘विज्ञापन’
गरिन् । अहिले टाउको कहिलेकाहीँ खान्छिन्, पैसा धेरै कमाएको दिन । अरू दिन
दस रुपैयाँमा पाइने भुटेको माछामा चित्त बुझाउने गरेकी छिन् । ‘दुई सय
कमाउँदा र पचास कमाउँदा एउटै हुन्छ त ? आजकल म त्यहीँ भुटेकोमा पानी हालेर
खान्छु,’ उनले मितव्ययी हुन सिकाइन् ।
मुसेली त्यति रोगी छैनन् ।
एकपटक उनको पेटमा डल्लो पलायो, कान्छीऔंला जत्रो मोटो । उनी अस्पताल गइन्
। डाक्टरले औषधि दियो । गाह्रो भए वीर अस्पताल जान भनेको थियो । उनलाई
लाग्यो, पेटमा घाउ छ । त्यसपछि चिया खान छाडिदिइन् । मासको दाल पनि
खान्नन्, घाउ पाक्ने पीरले । त्यो डल्लो अझै छ त्यसैले अझै पनि छोडेका
कुरा खान सुरु गरेकी छैनन् । घाउ पाके आफू मर्ने डर छ उनलाई । उनी चुरोट
पनि खान्थिन्, काठमाडौं आएपछि याक । त्योभन्दा पहिले सालको पातमा सुर्ती
बेरेर । त्यही डल्लो आउँदा डाक्टरले नखा भनेपछि छाडिदिइन् । केही
वर्षअगाडि उनको दाँतले धेरै दुःख दियो उनलाई । उनी वीर हस्पिटल गइन्,
उपचार गर्न । च्वाट्टै निको भयो । ‘दाँत दुःखेकाहरू वीर हस्पिटल जानुपर्ने
रहेछ,’ उनले फेरि ‘विज्ञापन’ गरिन् । भद्रकालीमा माग्न थालेपछि तरकारी
बाँड्न ल्याउनेले उनलाई पनि दिन्थे तर, उनले खान छोडिन्, पेट दुख्ने भएर ।
उनी सिनेमा हल एकपटक मात्र गएकी छिन् छोरासँग, कुमारी हल । कुन फिल्म थियो
? याद छैन । ‘मान्छेले सेतो ओड्थ्यो, सेतो ओड्ने फिल्म के ?’ सम्झिन
खोज्दै उनले भनिन् ।
उनी वर्षको एकपटक नुहाउँछिन् पानी पर्दा असारतिर
। आफूलाई नुहाउनै आवश्यक नभएको उनको निचोड छ । लुगा पनि भिज्यो भने अर्को
फेर्छिन्, नत्र त्यही लगाउँछिन् । यो वर्ष उनलाई असार आएन । उनी भन्छिन्,
‘पानी परेपछि नुहाउने हो । खै त पानी परेको ?’ यो वर्ष उनले नुहाउने पानी
परेकै छैन ।
मुसलीले ‘नेपाल’ छिरेपछि के गरिनन् ? परिवार
नियोजनको अफिसमा ढुंगा कुटिन् । ज्यामी काम पनि गरिन् । धेरै साहुकोमा
भाँडा माझ्न बसिन् । परिवार नियोजनको अफिसले त पैसा दिन्थ्यो । ज्यामी काम
गर्दा भने साहु कचकचे थियो, पैसै नदिने । त्यविपछि लागिन घाँस काट्न । यो
‘पेशा’ मा पनि उनको २२ वर्ष वित्यो । पहिला त काठमाडौं आधाआधी जंगल थियो,
अहिले पनि जंगल नै छ । फरक यत्तिको हो, पहिले रुखैरुखको, अहिले घरैघरको ।
उनलाई पहिलेको जंगली काठमाडांै मन पथ्र्याे, किनकि त्यसबेला घाँस
पाइन्थ्यो ।
उनलाई एकपटक वृद्धाश्रम जाने जङ्ग चल्यो, त्यो पनि कोठा
नपाएर । उनी गइन् । वृद्धाश्रमकाले के के कागजात मागे । उनलाई सबै झन्झट
लाग्यो, त्यसपछि उनी र्फकेर गएकी छैनन् । अब जानुहुन्छ ? ‘अँहँ, कमाएर खान
सकिहाल्छु नि,’ माग्ने जागिरबाट सन्तुष्ट हुँदै उनले भनिन् ।
माग्न
सजिलो रै’छ त आमा ? ‘सजिलो नि बा, बस्यो माग्यो, पैसा पो कम हुन्छ,’ उनी
दाँतविहीन हाँसो हाँसिन् । ‘घाँस व्यापार’मा धेरै पैसा कमाइने भए पनि आजकल
हिम्मत नै नआएकाले घाँस बेच्न छाडिन् ।
हाम्रो संवाद
सुनिरहेका दुई महिलाले उनलाई पाँच रुपैयाँ दिए । उनले लिन अस्वीकार गरिन्,
अनि, भनिन्, ‘तिम्लाई भाडा चाहिएला नि नानी ! मलाई किन दिनु ? मसँग त पैसा
छ,’ उनी उदार देखिइन् ।
माग्न बस्दा उनलाई धेरैले माया गर्छन् ।
एकजना ‘दानी’ले उनलाई छाता पनि दिएका छन् । त्यो छाता उनका लागि एउटा
घरभन्दा कम छैन् । ‘मलाई पैसाभन्दा धेरै खानेकुरा दिन्छन्,’ नजिकको पसल
देखाउँदै उनले भनिन् । ‘सबैभन्दा धेरै पैसा स्वयम्भूमा पाइन्छ,’ उनले
भनिन् । आफूहरूसँगै भर्खरका ठिटाहरू माग्न बसेको देख्दा उनलाई अचम्म लाग्छ
। ‘यस्ताले कम पैसा पाउँछन्, हाम्लाई पाँच रुपियाँ दिनेले यिनलाई एक
रुपियाँ दिन्छन् । भगवान्ले पनि केटाहरूलाई माया गर्दा रहेनछन्,’ उनलाई
लाग्छ । स्वयम्भूमा किन नगएको त ? स्वयम्भूमा त बूढो भएपछि पो जाने, म किन
जानु ?’ उनले जवानी झल्काइन् । यिनलाई उमेर घर्केको कहिले लाग्ने होला ?
copy from focusnepal.blogsome.com